माओवादी नेतृत्व र चुनौती - दामोदरप्रसाद आचार्य
August 18th, 2008
माओवादी नेतृत्व र चुनौती
- दामोदरप्रसाद आचार्य
ऐतिहासिक संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा जनताबाट अनुमोदित भएको नेकपा (माओवादी) लाई स्वदेशी र विदेशी प्रतिक्रियावादीहरुको विभिन्न छलकपट, घेराबन्दी र षड्यन्त्रहरुका कारण निर्वाचन सकिएको चार महिनासम्म सरकारको नेतृत्व गर्न नदिई देशलाई अनिर्णयको बन्दी बनाइयो।
लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गर्दै नेपालको लोकतान्त्रिक शक्तिको आफूलाई धरोहर ठान्ने नेपाली कांग्रेस विश्वमै आफ्नो लाचारी कर्म देखाउन पछि परेन। वास्तवमा राष्ट्रिय सरकारको आवश्यकता नै सबैको चाहना हुंदाहुंदै नेपाली कांग्रेसको यथास्थितिवादी चिन्तनकै कारण त्यो हुन सकेन। अन्ततः खुलेरै जनादेशको उपेक्षा गर्दै माओवादीबाहेकको सरकार गठन गर्ने कसरत गरेकाले कांग्रेस संविधानसभामा नै एक्लिन पुगेको छ। यो सुखद् भने होइन। समाज प्रगतिशील हुन्छ त्यसैले अग्रगमन र प्रगतिको विपक्षमा वकालत गर्नेहरु इतिहासको गतिसंगै अगाडि जान सक्दैनन्। यो तथ्यलाई साउन ३१ गते संविधानसभामा गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीको निर्वाचनमा भएको राजनीतिक ध्रुवीकरणले प्रमाणित गरेको छ। जनताको अग्रगामी प्रगतिको आकाङ्क्षालाई आत्मसात गर्नु पवित्र हो भने यथास्थितिवाद र प्रतिगमनतर्फ धकेल्ने प्रयास अपवित्र हो भन्ने बुझ्दाबुझ्दै माओवादीसँगको सहकार्य पवित्र छ कि अपवित्र भनेर कटाक्ष गर्न पछि नपर्ने लाचारीहरु पनि छन्। राष्ट्रपति र उपराष्ट्रपतीय निर्वाचनको क्रममा नेकपा (माओवादी) लाई एक्ल्याउने रुपमा भएको गणितीय हिसाबको खेल जनताको अग्रगामी प्रगतिको विरुद्धमा भएकोले अपवित्र थियो। किनकि नेकपा (माओवादी) ले जनहितकारी अग्रगामी प्रगतिको एजेन्डामा सहमति र सहकार्यको लागि अनुरोध गरेको थियो। अन्ततः समावेशी लोकतान्त्रिक राजनीतिक सिद्धान्त र अग्रगामी प्रगतिका विरुद्ध नेकपा (एमाले), नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरमबीचमा गठबन्धन बन्यो। त्यसैले अराजनीतिक, अप्राकृतिक र अपवित्र थियो।
राष्ट्रपति र उपराष्ट्रपतीय निर्वाचनपछि पनि सरकारको नेतृत्व नेकपा (माओवादी) ले नै गर्नुपर्ने सम्पूर्ण राजनीतिक दलहरु, लब्धप्रतिष्ठित व्यक्तित्वहरुले र स्वयम् नेपाली कांग्रेसले व्यक्त गरिरहँदा राष्ट्रिय सहमतिको सरकार सञ्चालनको लागि नेकपा (माओवादी) ले २४ दलहरुसमक्ष प्रस्तुत गरेको साझा न्युनतम कार्यक्रममा समेत नेपाली कांग्रेसले असहमति जाहेर गरी हलो अड्काएर गोरु चुट्ने काम गर्यो। त्यसपछि पनि कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो प्रायः प्रधानमन्त्रीले नै सम्हाल्दै आउने गरेको रक्षामन्त्रालय नेपाली कांग्रेसलाई चाहिने बहानाबाजी गर्दै सरकार गठनको लागि अर्को बखेडा झिक्यो। रक्षामन्त्रालयको दाबी केवल नेकपा (माओवादी) लाई सरकारको नेतृत्व गर्नबाट वञ्चित गराउने कसरत मात्र भएको नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नेकपा (एमाले) लाई सरकारको नेतृत्व गर्न गरेको आग्रहले समेत छर्लङ्ग भएको छ। नेपाली कांग्रेसले नेकपा (माओवादी) लाई सरकारको नेतृत्व नै गर्न नदिने स्पष्ट कसरतमा जुटेपछि अन्ततः ढिलै भए पनि अरु दलहरुका पनि आँखा खुले। फलस्वरुप गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीको निर्वाचनमा २१ राजनीतिक दलहरु संविधानसभा निर्वाचनले दिएको जनादेशको पक्षमा एक ठाउँमा उभिन पुगे। यो नेपाल र नेपालीको लागि युगकै अत्यन्तै सुखद् र ऐतिहासिक उपलब्धि हो भने नेकपा (माओवादी) लाई देशको केन्द्रीय राज्यसत्तामा पुग्न नदिन सक्रिय स्वदेशी र विदेशी साम्रज्यवाद, विस्तारवाद, यथास्थितिवाद, प्रतिक्रियावाद र सामन्तवादको चलखेल र षड्यन्त्रका विरुद्धको महान् विजय हो।
स्मरणिय छ, नेकपा (माओवादी) ले राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसंग सहमति र सहकार्यका लागि गरेको भरमग्दुर प्रयास उनीहरुकै अस्वाभाविक–अप्राकृतिक हठ र अटेरका कारण सफल हुन सकेको थिएन। यद्यपि फलेको वृक्ष नुहिन्छ भन्ने उक्तिलाई चरितार्थ गर्दै जनहित लाई सर्वोच्च स्वीकार गरी संविधानसभामा सबैभन्दा ठूलो दल नेकपा (माओवादी) ले सहमति र सहकार्यका क्रममा आफ्नो तर्फबाट गृहकार्यमा केही कमी भएको कारण नेकपा (एमाले) सँग सहकार्य तोडिएको भन्दै गहन कूटनीतिक शैलीमा आत्मालोचित भएर आफ्नो राजनीतिक विचारलाई उठाउन सफल भएको छ। यस विषयमा लगत्तै प्रतिक्रिया दिँदै पशुपतिशशेरर जबराले माओवादीले आत्मालोचित भएर गल्ती गर्यो पनि भनेका थिए।
अर्को मननयोग्य विषय यो छ ०२ अगस्ट २००८ मा श्रीलंकाको राजधानी कोलम्बोमा भएको सार्कको १५औं सिखर सम्मेलनमा प्रतिनिधित्व गर्नुपर्ने गम्भीर राष्ट्रिय विषयमा तत्कालीन कामचलाउ सरकारको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफ्नो एकलौटी मन्त्रिपरिषदबाट निर्णय गरी ३५ जनाको जम्बो टोलीसहित जाने विषयको चर्को आलोचना र विरोधपछि बाध्य भई क्षमायाचना गरी त्यसतर्फ गए। यता माओवादी अधक्ष्य प्रचण्ड जननिर्वाचित प्रधानमन्त्री भएलगत्तै मिस नेपाल प्रतियोगिताको विरुद्ध उत्रेका महिलाहरुको समूहले मिस नेपाल प्रतियोगिता बन्द गर्न प्रधानमन्त्री प्रचण्डसमक्ष गरेको अनुरोधमा उहाँले यो विषयमा सबै दलहरुसँग छलफल गरेर निर्णय गरौंला भनेर दिनुभएको प्रत्युत्तरले सर्वसत्तावादी र अलोकतान्त्रिक परिपाटी अँगाल्ने नेकपा (माओवादी) हो वा नेपाली कांग्रेस दूधको दूध पानीको पानी गरी स्पष्ट गरेको छ। तर नेकपा (माओवादी) को उच्च सोचको मूल्याकंन गर्न नसक्नेहरु निर्लज्ज माओवादी, निउरी मुन्टी न भनेर आत्मसन्तुष्टि पनि लिँदैछन्। कांग्रेसी मित्रहरु, तर अब त्यसो होइन, देश र जनताको उन्नति र प्रगतिको लागि हामी सबै एक ढिक्का भएर राष्ट्रिय सहमतिको सरकारमा सहभागी भएर अगाडि बढ्नुपर्ने देशको आवश्यकता हो। त्यसको दायित्वबोध गरेर अगाडि बढेमा मात्र इतिहासले हामीलाई सम्झनेछ, पछि नपरौं।
नेकपा (माओवादी) को नेतृत्वमा चलेको दसवर्षे जनयुद्धको जगमा टेकेर नेपालले महान् जनआन्दोलन – २ बाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वि.स. २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले २४० वर्षको सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्यो। र विश्वका कुनै पनि राजा महाराजाले शान्तिपूर्ण तरिकाले राजगद्दी त्याग गरेको इतिहास नै नभएको सन्दर्भमा आश्चर्यपूर्ण कूटनीतिक शैलीद्वारा राजाको शान्तिपूर्ण वहिर्गमन प्रक्रिया अपनाइयो। यो विश्व इतिहासकै लागि नवीनतम् छ। साथै भूपू विद्रोही कम्युनिस्ट नेता गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री अर्को विशेषता हो। संविधानसभामा प्रधानमन्त्री निर्वाचनका लागि उपस्थित ५७७ सभासद्हरु मध्येबाट नेकपा (माओवादी) का अध्यक्ष कमरेड प्रचण्डलाई ४६४ मत र निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर देउवाले आफ्नो दलको मात्र ११३ मत प्राप्त गरे। यसर्थ नेकपा (माओवादी) का अध्यक्ष कमरेड प्रचण्डलाई दुईतिहाइ भन्दा बढी मतद्वारा विजयी बनाएर विश्व इतिहासमा नेपालले एउटा नयाँ गौरवको अध्याय थपेको छ।
अबको चुनौतीपूर्ण यात्रा
गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको आगामी यात्रा फूलैफूलको नभई काँडैकाँडाको मार्गबाट क्रमशः काँडाहरु पन्छाउँदै अगाडि बढ्नुपर्ने जटिल अवस्थाको छ। माओवादीको सरकार हेर्ने लामो जनप्रतीक्षापछि थुप्रै व्यवधानहरुलाई चिर्दै बल्ल नेकपा (माओवादी) को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दैछ। उसप्रति आम नेपाली जनताले राहतको अपेक्षा राखेका छन्। तर जर्जर, जीर्ण र अनगिन्ती प्वालहरुले चाल्नुझैँ बनेको नेपाली अर्थतन्त्रको परिवेशमा आगामी सरकारले हरेक प्वालहरु टाल्दै अघि बढ्नुपर्ने यात्रा गम्भीर चुनौतीपूर्ण छ।
विशेष महत्त्वपूर्ण यो छ कि नेकपा (माओवादी) को नेतृत्वको राष्ट्रिय सहमतिको सरकारमा सहभागी सबै दलहरुले दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्य गरेमा मात्र युगान्तकारी परिवर्तन र नयाँ नेपालको महत्त्व जनताले आभास गर्नेछन्। जनहितलाई ओझेलमा पार्दै विगतमा बनेका सरकारहरु झै आ–आफ्नै डम्फु बजाउने प्रक्रियाको थालनी भएमा सरकार बनाउने र ढाल्ने परम्पराले स्थान ओगट्ने छ। यसर्थ देश र जनता थप दुःख र अभावको खाडलमा फस्नेछन्। यसलाई सबैदलले ह्दयंगम गरेर जनहितलाई नै सर्वोपरि ठानेर अघि बढ्नेछन् भन्ने जनविश्वास छ।
आम नेपाली जनताले वर्षौदेखि अव्यवस्थित बजारप्रणालीका कारण भोग्दैआएको आकासिँदो महँगीको चर्को भारदेखि सबैखाले अभाव र आवश्यकतालाई दुईवर्षे अवधिको नेकपा (माओवादी) को नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले पूरा गर्न सम्भव कुरा त हुँदै होइन। तर जनताले यो अवधिमा नै केही राहतको अनुभूति भने गर्न पाउनुपर्ने आम जनसमुदायको अपेक्षा रहेको छ।
नयाँ सरकारले ४ प्रमुख दायित्वहरुलाई पूरा गर्नुपर्ने देखिन्छ ―
१. सर्वप्रथम, देशमा कष्टकर बनेको महँगी नियन्त्रण, पेट्रोलियम पदार्थको आपूर्ति, सर्वसुलभ स्वास्थ्यसेवा, छिटोछरितो प्रशासनिक सेवा, स्वच्छ न्यायप्रणाली र व्याप्त भ्रष्टाचारको नियन्त्रण गरी जनताको दैनिक जीवनयापनको लागि राहतको अनुभूति दिलाउने।
२. वि. सं. २०६३ साल मंसिर ५ गते नेपाल सरकार र नेकपा (माओवादी) का बीच भएको बृहत् शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउने।
३. दुई वर्षको अवधिभरमा संविधानसभाले सबै वर्ग, क्षेत्र, जाति, लिङ्ग र समुदायको हकअधिकार सुनिश्चित गर्ने जनमुखी संविधान लेखनकार्य पूरा गर्ने।
४. देशमा अझै स–साना सशस्त्र समूहहरुबाट भइरहेका अराजक क्रियाकलापहरु र असुरक्षाको कारण जनताले बेहोर्नुपरेको पीडाबाट मुक्त गराउनेतर्फ कदम चाल्ने।
अन्तमा, नयाँ गणतन्त्र नेपालका जननिर्वाचित प्रधानमन्त्री युगनायक कमरेड प्रचण्डको आगामी कार्यकाल सफलताहरु चुम्दै नेतृत्व कुशलताको नै विश्व उदाहरण बनोस, हार्दिक बधाई तथा शुभकामना।
१८ अगस्ट २००८
लुभेन, बेल्जियम
Entry Filed under: फिचर





1 प्रतिक्रिया आफ्नो प्रतिक्रिया दिनुहोस्...
1. L.V.Thiek | September 1st, 2008 at 7:38 pm
Sky won’t fall down or Nepal won’t be like Japan or any Europeon Developed counties as Mr.Damoder said. But Maoists has a day dream and they always think over ambition. Maoists dont have any magic stick to develop Nepal.They brought many division among the Nepali making lots of Morchas. They cant do anything without having multiparty discussion.What is the new things which nepali people got? no things. But moaists get lots of things by killing lots of innosent people. Lets see Moaists government and their honymoon.
आफ्नो प्रतिक्रिया दिनुहोस्...
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed