नयाँ नेपाल, हाम्रो नियति र नयाँ वर्ष - गणेश खड्का ‘प्रतिक्षा’
- गणेश खड्का ‘प्रतिक्षा’
‘मेरा दुईटा छोरा छन्- एउटा लड्डू एउटा ढड्डू ।
लड्डूलाई खुब खानु पर्छ, ढड्डूलाई खुब सुत्नु पर्छ ।
मेरा एक साथी छन् जसको थर “मै हुँ म” हो।
उनी कसैलाई गन्दैनन्, मेरा नोकरको नाम थर्थरानन्द
थलाहारी हो, अर्कोको नाम पुङ्-माङ् पक्क। एउटा छिमेकी
छन्, जसलाई मैले ‘ मुजुरपंखी ‘ भलाद्मी नाम राखेको छु।’
मोटामोटी रूपमा अहिलेसम्म हामीले बोकेको आलम्बन र उद्दिपन विभावीय चरित्रहरु यिनै हुन्। घमण्डी, पाखण्डी, अल्छि, कसैलाई नगन्ने, पक्क पर्ने, स्वाँगी, ढोंगी, अर्काको रिस-डाहा गर्ने अनि खानु र सुत्नुलाई मात्र जीवन ठान्नु हाम्रा विशेषता बने। थुप्रै वर्ष अगाडि महाकवि देवकोटाको नाटक ‘सावित्री सत्यवान’मा प्रस्तुत यो सम्बाद अद्यावधि हाम्रो जीवन शैली बन्दैछ। त्यसैले यहाँ उदृत गर्नु सान्दर्भिक ठाने मैले। कुरा प्रवृत्तिको हो, व्यवहारको हो, चरित्रको हो र हामीले त्याग्न नसकेको समग्र अपसंस्कृत जीवनशैली र मवादी चिन्तनको हो।
समय पर्खालको बिरालो नभएर मैदानको घोडा रहेछ। आफ्नो गतिलाई निरन्तर प्रवाहित गर्नु समयको नित्य कर्म र धर्म हो। संसारका जत्ति सुकै मै हुँ भन्नेहरुले पनि समयको गतिशिलतालाई नियन्त्रण गर्न सकेनन्। हिटलर, जार, नेपोलियन, सद्दाम, सबै-सबै समयसँगका असफल योद्धाका उदाहरणहरु हुन्। हाम्रैतिरको कुरा गर्ने हो भने पनि ज्ञानेन्द्र शाहले भोगेको यथार्थ समयसंग जिस्किनुको उपज हो। जङ्गली राजनितीको सारथी बन्दासम्म सम्मुनत नयाँ नेपालको स्वर्णिम सपना देख्नेहरु सिंहदरबार छिर्ने बित्तिकै आफूलाई संसार जितेको ठानेर नयाँ ब्यक्तिगत जीवनको नयाँ अनुभूतिकासाथ सबै कुरा बिर्सेंर लट्ठ पर्नु स्वार्थको पराकाष्ठा हो। हिजोको समय आजको जस्तो थिएन, आज हिजो जस्तो थिएन र निश्चय नै भोली अर्कै रुपमा उपस्थित हुने छ हाम्रो सामु। वास्तवमा समयको क्यान्भास विचित्रको छ, जहाँ जस्तोसुकै रङ पोखे पनि अन्तत: एउटा आकार बन्ने निश्चित छ।
प्रसँग नयाँ नेपालको हो, नयाँ वर्षको हो र प्राय सधैं हाम्रा ओठमा झुण्डिरहने नयाँ शब्दको हो, नयाँ चिजको हो। आखिर केलाई नयाँ भन्ने त ? यो प्रश्नले गम्भिर महत्व राख्नु पर्छ। हाम्रो स्वरुपमा होइन ब्यवहारमा नयाँपन हुनु पर्यो, प्रवृत्तिमा नयाँपन हुनु पर्यो। रचनात्मक र ऋजनात्मक बिचार सहितको नयाँ सोचले संसार परिवर्तन हुने कुरामा शायद शंका नरहला। प्रवृत्तिमा परिवर्तन र नयाँपन आउन सकेन भने राजसंस्था मात्र होइन राणा शासन नै पनि कहाँ मासिएको मान्न सकिन्छ र ? नत्र जनताको छातिमा गाडी कुदाउने ज्ञानेन्द्रपुत्र पारस र दिनदहाडै मातेर गाइजात्रा गर्ने प्रचण्डपुत्र प्रकाशमा के प्रवृत्तिगत भिन्नता रह्यो र ? लथालिङ नेपालको भाताभुङ्ग अवस्थामा आउने नयाँ चिजले के सार ल्याउला र खोइ? फुस्रो आधुनिकताको आडम्बरी राग अलापेर कहिल्यै नथाक्नेहरुको भिडमा आफ्नो संस्कृति बोकेर आउने नयाँ वर्षले केवल पात्रो र क्यालेण्डर फेर्नु शिवाय केही गर्न सकेन। डिसेम्बरको सप्ताहरम्भदेखि नै जनवरी वानको सेलेब्रेसन खातिर भूईँमा न भाँडामा हुँदै उचालिनेहरु बैशाख एकको स्वागतमा किन लालयित बन्न सक्दैनन्? आफ्नो भत्केको घरलाई टाल्न छोडेर अर्काको नयाँ घरमा डेरा सर्न खोज्ने मानसिकताले आफ्नै अस्तित्व नामेट पार्ने बाहेक के गर्न सक्ला र ?
समय त आँफैमा निश्कलंकीत छ वेगवान छ। समय सबैको लागि उत्तिकै न्यायिक र समान छ। समयका प्रत्येक पल प्रगतिको अजस्र श्रोत हुन् तर हामी जन्मिनुको अन्तिम लक्ष्य मृत्यु भन्दा अर्को केही भोगिरहेका छैनौं। गगन थापाको भनाई सापट लिने हो भने- ” संसारमा काम धेरै छन्, समय काम छ। तर हामीसँग समय बहुत छ तर काम केही छैन।” हामी काम गर्न तत्पर छैनौं भन्ने कुरालाई संकेत गर्छ यो भनाईले। दास मानसिकता भएकाहरुले माटोको लागि केही गर्न सक्तैनन्, भनेकाछन् दार्शनिकहरुले। जनतालाई महङ्गी र गरीबी हिट्लरको ग्याँस च्याम्बर बनिरहेको छ, हुम्लामा भोकमारिले ज्यान निलिरहेकोछ, राष्ट्रका कर्णाधार युवाहरु बिदेशी माटोमा पसिना पोख्न विवस छन्, आफ्नै घरमा सुरक्षाको प्रत्याभूति पाउन नसकेर हरेक रातहरु अनिदोमा बिताउनु पर्ने जर्जर अवस्था ज्यूँ का त्यूँ छ। यता देशको लागि केही गर्छु भन्नेहरु जनतालाई गुमराहमा पारेर राजधानीका तारे होटलहरुमा स्कचले घाँटी भिजाउनै मस्त छन्। फेरी किन झार्नु गोहिको आँसु ? काँचका पर्दामा सहानुभूतिका जत्ति स्वर फलाके पनि त्यो लागेको घाउमा मलहम पट्टी बन्न सक्तैन। थाहा भइसक्यो अब कसैले पनि धेरै स्वाङ्ग नपारे हुन्छ। कसलाई थाहा छैन, बिरालो जुन रङको भए पनि त्यसको काम मूसा मार्नु र दुध चोर्नु शिवाय केही रहेनछ। विशाल नयाँ नेपालको निर्माणमा पृथ्वीनारायण शाहको साहसका अतिरिक्त बिसे नगर्चीको सल्लाह अचुक औषधी बनेको दृष्टान्त ज्यूँदै छ, तर यहाँ नया नेपाल बनाउन देश टुक्र्याउनु पर्छ भन्ने बहुलट्ठी संस्कृतिको बिकास भइरहेछ। कस्तो हास्यास्पद र लज्जास्पद कुरा? ए बाबा ! नयाँपन त रचनाले दिने हो, विध्वशंले होइन नि। भात्किएका विद्यालय, स्वास्थ्य चौकी र थुप्रै भौतिक संरचनाहरु जिर्णोद्धारको प्रतिक्षामा देउरालीको ढुङ्गो बनिरहेका छन्। कोरा कागज र कथित सेमिनारमा सिमित नयाँ नेपालको अबधारणाले कहिले मूर्त रुप लेला र खोइ? फेरि गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोको भनाई साभार गरौं- उनले भनेका छन्- ” नेपालीहरुमा केही गर्ने क्षमता नभएर होइन, अर्काको रिस, डाहा, र इर्श्या गर्ने प्रवृत्तिले केही पनि गर्न सकिरहेका छैनन्।
यथार्थमा अहिले हाम्रो नियति वाणै वाणको शैय्यामा भिष्म छट्पटाइरहेको भन्दा कम जर्जर छैन। समयले हाम्रो लागि नयाँ वर्ष ल्याओस कि नल्याओस तर वैशाख जसरी पनि आउँछ। वसन्तको नियमित आगमनमा कुनै विलम्ब हुँदैन। पुराना पात झरेर नयाँ पात पलाउँछन् नै। कोइलिले आफ्नो भाकामा कुनै कन्जुस्याईँ गर्दैन। जसले जत्ति कामना गरेपनि मध्य रातमा सूर्य उदाउन सक्तैन। न त दिन रातमा परिणत हुन्छ कहिल्यै। समयलाई उछिनेर सूर्यलाई हत्केलाले छेक्छु भन्ने वेढङ्गी धृष्टता बोक्नेहरु समयसँगै विलाएर गए पानीको फोका जस्तै। जे होस्- समयसँगै फेरि एउटा नयाँ वर्षले हाम्रो आगन टेक्तैछ। पोहोर सालको नयाँ वर्षमा शुभकामनाका हातले थम्थमाएका कत्ति भविष्यका कर्णधारहरु कुपोषणको शिकार बनेर अहिलेको नयाँ साल देख्न पाएनन् होला। बिषय रोदनिय बन्छ। नयाँ वर्षलाई ऋजनात्मक, रचनात्मक र नूतन कर्ममा परिणत गर्न सके प्रगतिका ढोकाहरु घनिभूत भएर हाम्रो सामु उभिनेछन्। विचार र संस्कारका नवीन कुची र रङ्ग बोकेर नयाँ नेपाल निर्माण खातिर जुट्न सके नयाँ वर्षसँगै जीवन संगीतमय बन्नेछ। रिस, राग, इर्श्या र डाह त्यागेर आपसी सदभाव, मेलमिलाप र भाईचारा नयाँ वर्षको नविन आयाम बनोस् हाम्रा लागि। प्रगतिपथमा वशिभूत भएर चम्कियोस् नयाँ वर्ष सबैका मनमा। अहिलेलाई यही कामना गरौं। यसै पनि मायाँ- प्रेममा संसर फूल्ने कुरा निर्विवाद नै छ नि होइन र..?
आएर कहिल्यै रितु सिद्दिदैन
लाएर मायाँ मुटु रित्तिदैन…
तिवारी भञ्ज्याङग - ४, भोजपुर
हाल: भिक्टोरिया (सिसेल्स)
1 comment April 10th, 2009




