सेन्सरले बनायो जोकर
January 21st, 2010 Edit
शिव मुखिया/ एचकेनेपाल डट कम-
मेरीबास्सै टिम गुल्मीको तम्घास पुगेको थियो। त्यहीं उनीहरू मेरीबास्सैको ९५ औं एपिसोड हेर्न बसे। आफैले बनाएको ऋंखला हेर्न बसेका कलाकारहरू त्यतिबेला जिल्लिए जब ऋंखलाको मुख्य दृश्य टेलिभिजनबाट प्रसारण भएन। ‘हामीले ऋंखलामा देखाउंदै आएको कथाको निचोड जुन दृश्यमा समेटेका थियौं’ माग्नेबूढाको भूमिकामा देखिने केदार घिमिरेले भने- ‘त्यही दृश्य नै काटिएछ।’
माओवादी हिंसा र द्वन्द्वको समयमा नागरिक बेपत्ता भएको र त्यसको खोजिनीति प्रभावकारी नभएको कथामा आधारित थियो ऋंखला। गणतन्त्रपछि पनि बेपत्ता नागरिकको खोजीमा सम्बन्धित निकायले चासो नदेखाएपछि यो मार्मिक पीडालाई हास्यव्यंग्यको समिश्रणबाट मेरीबास्सैले खोतल्ने प्रयास गरेको थियो। ‘मैले पीडितहरूका बारेमा अनुसन्धान गरेर कथा तयार गरेको थिए“’ हास्य चरित्रमा देखिने केदारले गम्भीर हुंदै भने- ‘कतिपय परिवारको दुइ जनासम्म बेपत्ता छन्, उनीहरू तिनै बेपत्ताको प्रतीक्षामा आँसु चुहाएर बसेका छन्।’
मेरीबास्सैको उक्त कथा नागरिक बेपत्ताको खोजीनीति प्रभावकारी ढंगले गर्नुपर्ने कुरामा केन्द्रित थियो । कथाअनुसार माग्ने बूढा बेपत्ता भएपछि उनका श्रीमती र सालो बेपत्ताको खोजिनिती गरिदिन आग्रह गर्दै मानव अधिकारवादीकहाँ जान्छन्। ‘मानवअधिकार’ लेखिएको साइनबोर्ड त्रुटीपूर्ण भै मानवको अगाडि अधिकारको ‘अ’ जोडिएको हुन्छ। जसले झट्ट हेर्दा ‘अमानव धिकार’ लेखिएको देखिन्छ। लंगडोका रूपमा प्रस्तुत गरिएको मानवअधिकारकर्मी वैशाखीको सहाराले मात्र हिंड्न सक्छ जसले साइनबोर्डमा अगाडिको ‘अ’ लाई धिकारको अगाडि लगेर जोडिदिन्छ। त्यसपछि आफूहरू मानवअधिकारवादी संस्थामै आएको पक्कापक्की भएपछि मैया र बान्द्रेले बेपत्ता आफन्त खोजिदिन आग्रह गर्छन् । मानवअधिकारवादीले द्रुत गतिमा बेपत्ता खोजिदिने आश्वासन दिन्छन् । ‘सम्बन्धित निकायले जस्तोसुकै आश्वासन दिए पनि त्यसको कार्यन्वयन प्रभावकारी रूपमा हुन सकेको छैन भन्ने यर्थाथ उक्त दृश्यमा समेटिएको थियो’ सीताराम कट्टेल ‘धुर्मुस’ भन्छन्- ‘गणतन्त्र आइसकेपछि पनि हजारौं बेपत्ता नागरिक कहाँ छन्, कस्तो अवस्थामा छन्, मरे कि जिउंदै छन् भन्ने कुरा पीडित परिवारले थाहा पाएका छैनन्।’ यसरी राज्यको विसंगत पाटो केलाउने हुदां दृश्य काटिएको उनको भनाइ छ । ‘कथाको सार नै ओझेलमा परेपछि हामीहरू त हास्यव्यंग्यकार होइन जोकर जस्तै भयौं’ केदार घिमिरे भन्छन्।
यो एउटा उदाहरण मात्र हो, हास्यव्यंग्यको माध्यमबाट समाजको विसंगत पाटो खोतल्ने कलाकारहरूसंग यस्ता थुप्रै पीडादायक क्षणहरू छन्। ऋंखलाले देखाउन खोजेको मुख्य कुरा नै सेन्सर गरिने हुदा आफूहरू जोकर जस्तो मात्र भएको हास्य कलाकारहरूको गुनासो छ। ‘हामी जोकर मात्र होइनौं नि’ तीतो सत्यका निर्देशक तथा मुख्य कलाकार दीपकराज गिरी भन्छन्- ‘सेन्सरका कारण हामीलाई जोकरको भूमिका मात्र दिएजस्तो भएको छ।’
नेपाल टेलिभिजनबाट प्रसारण हुंदै आएको मेरीबास्सैदेखि जिरेखुर्सानीसम्म, तीतोसत्यदेखि झ्याइँकुटी झ्याइँसम्मले सेन्सरको मार खेप्दै आएका छन् । ‘यसरी हुने सेन्सरविरुद्ध विगतदेखि नै लडिरहेका छौं’ कलाकार गिरी भन्छन्- ‘तर, ऋंखलाको मुख्य दृश्य सेन्सर हुने क्रम अझै टरेको छैन।’
गणतन्त्रको अभ्यास भैरहेको मुलुकमा कलाकारहरूले स्वाभाविक रूपमै केही खुलापन महसुस गरेका थिए । ‘हामीले वातावरण सहज हुने अपेक्षा गरेका थियौं’ झ्याइँकुटी झ्याइँका निर्देशक तथा कलाकार दमन रूपाखेती भन्छन्- ‘हामीले स्वतन्त्रताको उपभोग गर्न पाएका छैनै, राज्य र समाजको कुरीति एवं कुप्रथामाथि प्रहार गर्न अझै पनि बन्देज छ, खै त गणतन्त्र आएको -’
राज्यको नीति-नियमदेखि हरेक कुरा जान्न पाउनु र्सवसाधाण जनताको नैसर्गिक अधिकार हो केदार घिमिरे भन्छन्। गणतन्त्रको अभ्यास भैरहेको नेपालमा यस्तो परिपाटी नभएको उनको भनाइ छ । खासगरी हास्य कलाकारहरू आफूलाई राज्य एवं समाजमा व्याप्त कुरीति, कुसंस्कार र विसंगति विरुद्ध आवाज उठाउने माध्यमका रूपमा लिन्छन् । अनुहारको हाउभाउद्वारा हंसाउने मात्र होइन समाजमा सकारात्मक सन्देश दिने पनि आफ्नो ध्येय भएको उनीहरू बताउंछन् । टेलिभिजनबाट सेन्सरको मार खेप्नुपरेपछि आफ्नो भूमिकामाथि नै प्रश्न उठेको हास्यकलाकारहरूको बुझाइ छ।
सरकार नियन्त्रित नेपाल टेलिभिजनबाट प्रसारण हुंदै आएका हास्य ऋंखलाका मुख्य दृश्यहरू नै सेन्सर हुने भएकाले कलाकारहरूमा असन्तोष बढेको हो । ऋंखलाले प्रस्तुत गर्न खोजेको कुरा नै सेन्सर भएपछि ऋंखला अर्थहीन बन्ने मात्र होइन, आफ्नो लोकप्रियता समेत घट्ने उनीहरूको तर्क छ। जिरे खुर्सानीका निर्देशक तथा कलाकार जितु नेपाल भन्छन् ‘देखाउन खोजेको कुरा नै देखाउन नपाएपछि ऋंखला कसरी लोकप्रिय हुन्छ त?’
कथाको मुख्य विषय नै सेन्सर हुन थालेपछि कलाकारहरू सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलकहाँ डेलिगेसन पनि गएका थिए। उनले कलाकारहरूलाई समाधानको बाटो देखाइदिनुको साटो झनै निरुत्साहित पार्ने जवाफ दिएर फर्काए। पोखरेलले ‘तपाईंहरूले हाम्रो के पोजेटिभ कुरा देखाउनुभएको छ र सहयोग गर्ने?’ भनेर गैरजिम्मेबारीपूर्ण जवाफ दिएका थिए।
नेताहरू एक-अर्काप्रति आरोप-प्रत्यारोप लगाएर बस्छन् । उनीहरू सार्वजनिक मञ्चबाटै विपक्षी नेताको कटु आलोचना गर्छन् तर त्यही कुरा कलात्मक रूपले प्रस्तुत गरिंदा सेन्सर हुने गरेको दीपकराज गिरी बताउंछन् । केही समयअघि तीतोसत्यमा प्रधानमन्त्री माधवकुरमार नेपालको भारत भ्रमणको विषय प्रस्तुत गरिएको थियो। भारत भ्रमण खासै उपलब्धीपूर्ण नभएको कथामा आधारित उक्त दृश्य सेन्सरमा पर्यो। आपत्तिजनक नभए पनि ६ मिनेट लामो दृश्य कटाइएपछि ऋंखला नै खल्लो भएको गिरी बताउंछन्।
लोकतन्त्रमा जे गर्न पनि वा जे भन्न पनि नेताहरूलाई मात्र छुट भएको अनुभव गर्न थालेका छन् हास्य कलाकारहरू। ‘लोकतन्त्र त नेताहरूलाई मात्र आएको हो, जनताले त्यसको अनुभूति गर्न पाएका छैनन्’- कलाकार गिरी भन्छन्।
तस्वीरहरूः शिव मुखिया/ एचकेनेपाल डट कम
Popularity: 4%
Entry Filed under: एचकेनेपाल डट कम

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Anonymous | January 29th, 2010 at 1:44 pm
gyanendra ale
Edit Comment2. Anonymous | March 22nd, 2010 at 12:59 am
रघुबिर सिहँ रावल राम्रो लग्यो
Edit Comment3. Anonymous | July 1st, 2010 at 8:07 pm
YOUR FILM IS GOOD FOR OUR CULTURE IT DISPLAYS PRIDE IN OUR NATION. I AM PROUD TO BE A NEPALEES.
Edit Commentआफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed